लोकतन्त्र आएरै के भो ?

साउन २५, २०७७ आइतबार

-उपेन्द्र झा

सुकीर्तिबाट आर्जन गरिएको लोकप्रियता मानवीय धरातलमा उभिएका कारण सन्तुलित र अडिग रहन्छ । त्याग, तपस्या, बलिदान र परिश्रमविहीन भाग्यको भरमा पाएको लोकप्रियता जन उत्तरदायी नभई नितान्त व्यक्तिवादी धरातलमा अस्थिर, कुनै पनि बेला ढल्ने किसिमले अडिएको हुन्छ । भारतको विरुद्ध अन्धराष्ट्रवादको नारा तथा चीनको विशेष अनुकम्पाका कारण परिस्थितिले नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई सगरमाथा उँचाईको समानान्तर राजनीतिक प्रतिष्ठा प्रदान गर्यो । यहाँ आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ३ करोड जनताको प्रतिनिधित्व बोध नभएर देवत्व प्राप्त गरेको ठूलो भ्रम पर्यो । व्यक्तिवादी चरित्रको यस्तो उदाहरण विरलै पाइन्छ ।

आफ्नो पार्टीका सहकर्मीहरुले काम गर्न दिएन, मिडिया पनि सरकारको विरुद्ध लागेका छन्, भारतले मेरो सरकारलाई ढाल्न खोज्यो भनेर ओलीजी आफ्नो निकम्मापनलाई ढाकछोप गर्न अनेक अनर्गल व्यंग्यात्मक तर्कहरु प्रयोग गरी अरुको तेजोबध गर्न पछि पर्नु हुन्न । देश र जनताको उन्नति, प्रगतिका लागि दृढ ईच्छाशक्ति, उच्च मनोवल र अदम्य साहस भएका व्यक्तिहरु एक्लै भएपनि समृद्धि ल्याएको प्रशस्त उदाहरण पाइन्छ । आफ्नो सुकर्मबाट जनताद्वारा दृढतापूर्वक स्थापित भएका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई विशालकाय भारत सरकारको बढ्दो प्रभावले चुनावमा केही बिगार्न सकेन ।

बीजेपीको अगाडि तृणकाय, केही अस्तित्व नभएका अरविन्द केजरीवाल जनताको काम गरेर अपार जन समर्थन पाएर ७० सीटमा ६३ सीट हात पारेर विजयी भई पुनस्र्थापित भए । यो परिश्रमको भरमा कमाएको लोकप्रियता थियो । दिल्लीमा आगो जस्तो फैलिई रहेको कोरोना संक्रमणले दिल्ली सरकारमाथि एकपल्ट फेरि संकटको बादल मँडारियो । सबैको सहकार्य तथा मुख्यमन्त्रीको सुझबुझबाट त्यो संकट विस्तारै हट्दै गएको छ ।
छल, प्रपंच, जाल, फरेव, धोकायी पंचगुणबाट युक्त अहिलेको नेपाली राजनीतिले आदर्श, ईमान्दारी, सच्चरित्रता, परोपकार, निःस्वार्थ सेवा आदी परम्परागत मन्त्रबाट मुक्त भएदेखि हजारौंको संख्यामा राजनीतिकर्मीलाई धनवान बनाएको सर्वविदित उदाहरण छ ।

व्यक्ति आर्थिक रुपले समृद्ध भए देश आफै समृद्धशाली हुने शायद यही भ्रमात्मक सोचको आधारमा सबै आफ्नो कर्मक्षेत्रमा व्यस्त रहेका छन् । छल, प्रपंच, जाल, फरेव, धोका आजको राजनीतिमा चाहिने यी पाँच गुणको आधारमा ईजीमनी आर्जन गर्न राजनीतिक क्षेत्रबाहेक अरु कुनै उर्बर क्षेत्र नहुने भएकोले ज्ञानी, अज्ञानी सबै सक्रियतापूर्वक यसमा लागेका छन् ।

यस्ता कृत्यलाई भ्रष्टाचार भन्नुको साटो धन आर्जन गर्ने आचार संहिता भन्न थालिएको छ । राजनीतिमा आफ्नो वर्चस्वलाई दीर्घकालसम्म बनाई राख्न र जनतालाई उपासकको रुपमा राखी राख्न धनको आवश्यकता अपरिहार्य विषय हो । यही धनले शासक र शासितको शाश्वत सम्बन्धलाई कायम राख्दछ । एउटा साँसद बन्न करोडौं खर्च गर्नेको अगाडि जनता जितेर जानेको कल्पना सात जन्मसम्म गर्न सक्दैन ।

एकपल्ट रौतहटमा घर भएर पनि जनताले माधव नेपाललाई हराई दिएपछि माधव नेपालले हारेकै अवस्थामा प्रधानमन्त्री बनेर देखाउनु भयो र पछि रौतहट निर्वाचन क्षेत्रमा कुबेरलाई पठाएर विजयी पनि बन्नु भयो । यही हो शासक र शासित बीचको भेद भनेर अप्रत्यक्ष उहाँले सबैलाई सन्देश दिनु भयो । लोकतन्त्र आएरै के भो ? यी शासकहरु जस्तो हिंसक जीवको चंगुलबाट मुक्त भए न लोकतन्त्र जनताको घरदैलोमा जाने हो । बडो कडाईका साथ कैद गरिएको लोकतन्त्रको दुर्दशा नेपाली जनताभन्दा फरक छैन ।

संघीय लोकतान्त्रिक गणतन्त्र, बिनाअवरोध दुई तिहाई नजिक रहेको बहुमतको जनादेश पाएको शक्तिशाली सरकार, कमजोर प्रतिपक्ष, चीनको सवल सहयोग आदि अनुकूल वातावरण पाएर अहिले महामारीको रुपमा देखा परेको कोरोनासँग लड्न, बाढी, पहिरोले जनधनको क्षति गरी लाखौंको संख्यामा विस्थापित गरिएका परिवारजनलाई राहत वितरणको समस्यासँग जुध्न, लकडाउनका कारण अस्तव्यस्त बनेका उद्योगधन्दा, शिक्षण क्षेत्र, आम्दानीको हरेक क्षेत्र लामो समयदेखि बन्द रहेका कारण जनतामा बढेको बेरोजगारी, मँहगी आदि कारणले जनता राहत नपाई मर्ने अवस्थामा पुग्दा यो अवस्थालाई कसरी व्यवस्था गर्ने, लामो समयसम्म बन्दाबन्दीका कारण देशको आयस्रोत ठप्प भएको अवस्थामा के गर्ने आदि देशमा रहेका यावत् समस्यासँग लडेर जनतालाई राहत पुर्याउनुको साटो अन्तरपार्टी संघर्ष, पार्टी पार्टीबीचको संघर्ष, भागबण्डाको संघर्ष, सरकार गिराउने संघर्ष, साजिशपूर्ण राजनीतिको खेलमा सत्तापक्ष र विपक्ष सबैको समान रुपको गैर जिम्मेवार भूमिकाले नेतृत्वका अगुवा पात्रहरु सबै असक्षम रहेको पुष्टि हुन्छ ।

यति धेरै राजनीतिक अनुकूलता प्राप्त गरेको पहिलो सरकार जसले सरकारमा गएर के के न गर्ने भनेर जनतासँग प्रतिबद्धता जाहेर गरेका थिए शासन (कुशासन होस् वा सुशासन) चलाउन यति असक्षम हुन्छ जनतालाई विश्वास गर्न कठीन भई रहेको छ । सरकार संचालनमा नेतृत्वकर्ता दायित्वविहीन भूमिकामा रहेपछि राजनीतिक अराजकता फैलिनु स्वाभाविक हो । देशमा फैलिई रहेको राजनीतिक अन्योलबारे जनतालाई सुसूचित गर्ने प्रतिपक्षको भूमिका पनि अन्योलग्रस्त छ । बरु सत्तामा भागबण्डा पाउने आश लिएर अवसरको खोजीमा लागेका छन् । पारस्परिक लडाईको सार सत्ताको भागबण्डा नै हो ।

अलिकतिको लापरवाहीले अमेरिकामा कोरोनाले मचाएको वितण्डाबाट पाठ सिकेर नेपालमा कोरोनाको महामारीबाट जनतालाई कसरी बचाउने भन्नेबारे तयारी गर्नुको साटो यसलाई अवसरको रुपमा प्रयोग गर्ने सरकारको नियतलाई के भन्ने ? बाढी पहिरोबाट जनधनको क्षति भई रहँदा राहत वितरण, पीडितहरुको असल व्यवस्थापन गर्नुको साटो यसमा आफ्नो राहत खोज्नु कुकृत्यको पराकाष्ठा होइन ?
देशको हरेक जिल्लामा दिनहुँ भ्रष्टाचार गर्दै रंगेहात समातिएर अख्तियारको कार्वाहीमा परि जेल जाने कर्मचारीहरुबाट पाठ सिकेर सतर्क भई काम गर्नुको साटो कर्मचारीहरु कार्यालयमा निडर भएर घूस लिई भ्रष्टाचारलाई निरन्तरता दिई रहँदा यो देश कहाँ जान लागेको चिन्ताको विषय बनेको छ ।

बहुमत वा संयुक्त कुनै सरकारले आफ्नो कार्यकाल पूरा गर्न नसकेको, पारस्परिक कलहमा फँसेको नेपालको राजनीतिक इतिहासको बिडम्बना जनताले भोग्दै आएको छ । यस्तै प्रसंगमा 'सतीको श्राप लागेको देश' भनेर जनबोलीमा रहेको उखानको चर्चा पनि हुँदै आएको छ । बहुमत पाएर कुनै बेला प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला पनि निरंकूश बनेका थिए र छत्तीसे ग्रुपको निर्माण भएको थियो । आज पनि त्यही अवस्था सिर्जना भएको छ । आधी-आधीकाल ओली र प्रचण्डले सरकार चलाउने भद्र सहमति गरि विश्वासको आधारमा पारस्परिक सहयोगको वातावरण निर्माण भएको थियो ।

आधी कार्यकाल बित्दा ओलीले सरकारको ताज प्रचण्डलाई दिन नमानेपछि पारस्परिक सहयोग र विश्वासको आधार भत्कियो । ओलीमा जन्मिदै गइरहेको निरंकूशता त्यतिबेला प्रष्ट रुपमा देखिएको थियो । विस्तारै निरंकूशता झाँगिदै गयो । अनेक दाउ र तर्कबाट आपूmमाथि आउने प्रहारबाट बच्दै तथा प्रहार गर्ने सबै सहकर्मीलाई पन्छाउँदै नेकपाभित्र ओलीले अन्तर संघर्षलाई चरमचुलीमा पु¥याएर विभाजनको रेखा खिचिदिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी शर्मा ओलीको केही दिनयता पारस्परिक गहन छलफललाई राजनीतिक वृतमा अर्थपूर्ण रुपमा हेरिन थालिएको छ ।

केपी शर्मा ओली सरकारको आधी कार्यकालमा नै चौतर्फी आलोचना हुनु बहुमतको दुर्भाग्य हो । देशभरि भ्रष्टाचारको ताण्डव, नियम कानूनको अनुपस्थिति, न्यायको अन्याय रुप प्रकट हुनु, चीनसँग प्रगाढ मैत्री सम्बन्ध र भारतसँग प्रगाढ तनाव सिर्जना गर्नु आदि हरेक क्षेत्रमा सरकार असफल देखिएका कारण देश अहिले घोर अराजकतामा फँसेको छ । सरकार संचालनमा असफल तथा देवत्व प्राप्त गरेको अहंकारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरंकूश बनाएको प्रष्ट छ । यो निरंकूशता देशको लागि स्वस्थकर छैन । यसले देशलाई ठूलो दुर्घटनामा जाक्ने सम्भावना देखिन्छ । (मधेश दर्पण फिचर सेवा)