विचार/व्यक्तित्व

कात्तिक १४, २०७७ शुक्रबार

गायत्री पराजुली

[caption id="attachment_8454" align="alignright" width="162"]         गायत्री पराजुली[/caption]

कोरोनाको कारणले विश्व आक्रान्त परेको यो समयमा शैक्षिक क्षेत्रमा त झन् नराम्रो असर परेको छ । शैक्षिक क्षेत्रमा परेको यो समस्यालाई केही हदसम्म भए पनि सहयोग पुर्याउने हेतुले वैकल्पिक सिकाइको खोजीमा अनलाइन शिक्षणको अवधारणा अघि आयो । कम्प्युटर, ल्यापटप तथा स्मार्ट मोबाइलको माध्यमबाट विद्यार्थीहरुलाई शिक्षण गर्नुपर्ने अवस्था सिर्जना हुदा सर्वप्रथम त आफैमा प्राविधिक ज्ञानको कमीले अलिक समय खर्चिनु पर्यो ।

प्राविधिज्ञ मित्रको सहयोगले आफ्नो ल्यापटपमा माइक्रोसफ्ट टिम्स एप डाउनलोड गरी शिक्षणका लागि तयार भइयो । टिम्स एप डाउनलोड गरिसकेपछि प्रत्येक कक्षाका प्रत्येक विद्यार्थीलाई फोन गरेर उनीहरूलाई इमेल आइडी बनाउन लगाइयो । कति विद्यार्थीले आइडी बनाएर सजिलै पठाइदिए भने कतिपय विद्यार्थीले आइडी बनाउन नै जानेनन् । साथै अभिभावकले पनि जानिएन मेडम भन्दै फोन गर्न थाले । उनीहरूलाई आइडी बनाउने तरिका बताएपछि फेरि फोन गर्दै आइडी माग्दै गरी विद्यार्थीका इमेल आइडी माइक्रोसफ्ट टिम्समा टाइप गर्दै एड गरियो । विद्यार्थीलाई फोन गर्दै आइडी माग्दै कक्षाअनुसार विद्यार्थीहरुका ग्रुप बनाई टाइप गर्दै जादा कहिलेकाही त विद्यालय गएर पाँच पिरिएड पढाएको भन्दा बढी थाकेको हुनाले शारीरिक भन्दा मानसिक भार बढी भएको महसुस भयो ।

हामीले जति कोसिस गरेर विद्यार्थीहरूलाई जुटाउन खोजे पनि विद्यार्थीका घरमा ल्यापटप , कम्प्युटर , नेट आदिका समस्या भएकोले अझैसम्म सबै विद्यार्थी अनलाइन कक्षामा जोडिन सकेका छैनन् । जति विद्यार्थीको कम्प्युटर ,ल्यापटप र नेटवर्कको पहुँच पुग्यो त्यति विद्यार्थीलाई लिएर माइक्रोसफ्ट टिम्स एपबाट अनलाइन शिक्षण सुरु गरियो । विद्यार्थीसगै रमाउने बानी परेकाले विद्यार्थीलाई अनलाइन कक्षामै भेट्दा पनि खुशी हुदै पढाउन सुरु गरियो ।

जब पढाउन सुरु गर्यो तब विद्यार्थी अनलाइन कक्षामा जोडिदै छुट्दै फेरि जोडिदै गर्न थाल्छन् । किन छुटेका भनी सोध्दा कोही नेटवर्कले काम नगरेर हो मेडम भन्छन् ,कोही मलाई कसले निकालिदियो भन्छन् । फेरि पढाउन सुरु गर्यो अर्को विद्यार्थी छुट्छ । एकछिन पछि जोडिएर मेडम मलाई कसले छुटाइदियो भन्छ । पढाउदा पढाउँदै कोही मलाई कसले किकआउट गरिदियो भन्दै जोडिन आउछन् । कोही मलाई कसले फालिदिएकोले छुटेको हुँ भन्छन् । यसरी साथीहरूलाई छुटाउने, निकाल्ने काम कुन विद्यार्थीले गरेको हो भन्ने कुरा आफूले नजानेर हो वा थाहा नै नहुने हो केही पत्तो लगाउन सकिएन ।

विद्यार्थीलाई तिमीहरू जोडिइसकेपछि नचली बसेर पाठ हेर म पढाउछु भन्दै पढाउन सुरु गरेर पढाइ रहेको बेलामा मेरो आवाज नै बन्द (म्युट) गरिदिएका हुदा रहेछन् । फेरि विद्यार्थी उताबाट मेडम तपाईंको म्युट छ भन्दै कराउछन् । ए, कसले मलाई बन्द गरेको भनी कराएपछि मलाई विद्यार्थीले नै सिकाउछन् कि मेडम तपाईंले अटेन्डी गरिदिनु अनि कसैले तपाईंलाई चलाउन मिल्दैन भनेर । अनि सबैलाई अटेन्डी गरेर पढाउन सुरु गर्यो त्यही बेलामा केही विद्यार्थीहरु झ्वाट्ट छुट्छन् । फेरि के भयो भनी सोध्दा यहाँ हाम्रो ठाउँमा बत्ती गयो मेम, म त इनभटरमा भएर हो भन्ने उत्तर आउछ । केहीछिन पछि बत्ती आएर उनीहरू जोडिन पुग्छन् फेरि अर्को ठाउँको बत्ती गएर त्यहाँका विद्यार्थीहरु छुट्छन् । यसरी छुट्दै जोडिदै गरिरहने हुनाले एउटै कुरा बारम्बार बताइरहनुपर्ने भएकोले धेरै समय लाग्छ । पढाउँदै गर्दा बिचबिचमा विद्यार्थीको फोन आउछ । मलाई कल गर्नु न यताबाट मैले जोडिन मिलेन भन्दै ।

उसलाई एड गरेर पढाउन शरु गर्यो फेरि उता अर्को विद्यार्थीले ट्वाकट्वाक गर्दै च्याट गरिरहेको आवाज आउछ । अरु विद्यार्थीले फेरि कसले च्याट गर्दैछ म्याम भन्दै कराउँदै गरेका हुन्छन् । सबैलाई सम्झाउदै पढाउँदै गरिसकेपछि बुझे कि बुझेनन् भनेर केही प्रश्न सोधेर एक जनालाई उत्तर भन्न लगाएको बेलामा फेरि अर्को विद्यार्थीले बोलिरहेको विद्यार्थीको म्युट गरिदिएको हुन्छ । विद्यार्थीका यस्ता क्रियाकलाप गरिरहेका बेलामा मलाई एक जना साथीले भनेको कुरा याद आउछ । उनले अनलाइन कक्षाका बारेमा कुरा उठेका बेलामा भनेका थिए, “विद्यार्थीका अघिल्तिर लट्ठी देखाएर पढाउँदा त हाम्रा विद्यार्थी पढ्दैनन्, मान्दैनन्, अनलाइन कक्षामा त झन् के पढ्लान् र खै !’

साथीका कुरा सम्झे पनि परिस्थिति अनुसार चल्नुपर्ने हुँदा फेरि उनीहरूलाई यता ध्यान देऊ भन्दै शब्द शब्द केलाएर बुझाउने कोसिस गर्यो उता विद्यार्थी भिडियो अन गरेर आफ्नै तस्बिरमा चस्मा लगाई, मुकुट लगाई, फूलबुट्टा भरी, रङ्ग बदली खेलिरहेका हुने । यसो नगर न भन्दै पढाउन शुरु गर्यो फेरि साथी साथी भिडियोमार्फत जिस्केर गिज्याएर खेलिरहेका हुने । विद्यार्थीका यस्ता क्रियाकलाप देख्दा प्राविधिक ज्ञानमा आफूभन्दा विद्यार्थी नै अगाडि भएकोमा मनमनै खुशी हुदै पढाउन सुरु ग¥यो । उनीहरू एकअर्कामा दोषारोपण गरी मलाई नै कुरा लगाउछन् ।

कोही जोडिदै छुट्दै गरेकालाई किन यसो गर्छाै भनेर सोध्यो बोल्दै बोल्दैनन् । कोही पढाउँदा सुनिरहेका हुन्छन्, केही प्रश्न सोधेपछि छुटिहाल्छन् । केही विद्यार्थी २/४ वटा कक्षामा उपस्थिति जनाएका थिए, त्यसपछि आउँदै आएका छैनन् । आफ्नो समस्या पनि बताउदैनन् । कति विद्यार्थीले सोधेको कुरा बताइरहेको बेलामा घर परिवारका पछाडिबाट आएको हो-हल्लाले सुन्ने र बताउने समयमा वाधा पु¥याउँछ । यस्तै कहिले मेरो ल्यापटप ह्याङ भएर दुःख दिन्छ भने कहिले विद्यार्थीको । फेरि कहिले मेरो नेटवर्क कमजोर भइरहेको देखाउँछ भने कहिले विद्यार्थीहरुको नेटवर्क कमजोर हुन्छ ।

यसरी अनलाइन कक्षा लिदा विविध अप्ठ्यारा आइलागे पनि सबै विद्यार्थीहरूलाई शिक्षण गर्न पाएको भए सुनमा सुगन्ध हुन्थ्यो भन्ने सोच्दै आफूले पनि केही प्राविधिक सीप सिकेर यस्तो कोबिड १९ महामारीको कारणले विद्यालयमा आएर पढ्न नपाएका बेलामा केही विद्यार्थीलाई मात्रै भए पनि सिकाउन पाएकोमा नहुने मामाभन्दा कानो मामा जातीझ भने झैं सुखद् अनुभूत भएको छ ।