उज्यालो पर्व दीपावलीको शुभकामना

कात्तिक २८, २०७७ शुक्रबार

नेपालीहरूको महान चाड तिहार शुरु भएको छ । तिहार पारिवारिक रूपमा दिदीबहिनी र दाजुभाइको पुनर्मिलनको, सामाजिकरूपमा सद्भाव अभिवृद्धिको चाड हो । तिहार उज्यालोको चाड हो । दीपको उज्यालोमा धनकी देवी लक्ष्मीको पूजा आराधना हुन्छ । तिहारको देउसी-भैलो सामाजिक सद्भाव र पुनर्मिलनको प्रतिक हो । तर यस पटक कोरोना भाइरस संक्रमणका कारण देउसी-भैलो खेल्न भने प्रतिवन्ध लगाइएको छ । दीपावली घरभित्रै बसेर बनाउनुपर्ने भएको छ । दीपावलीको उज्यालोले स्वतः उज्ज्वल भविष्यको कामना गर्छ । तिहार फूलको चाड हो । फूल कोमलता र सौन्दर्यको प्रतीक हो । यसरी तिहार समग्रमा पारिवारिक–सामाजिक पुनर्मिलन, सद्भाव अभिवृद्धि, समुन्नत÷समृद्ध भविष्यको कामनाको चाड हो । परापूर्वकालदेखि हिन्दू धर्मावलम्बी नेपालीले तिहार मनाउँदै आएका छौँ ।

तिहारमा मिठाई अनेक परिकार ठूलो परिमाणमा खपत हुने गरेको छ । तर मिठाईको गुणस्तमा प्रश्न उठ्दै आएको छ । मिठाईमा रङ, कच्चा पदार्थको भण्डारण, किचनको सरसफाइ जस्ता पक्ष अस्वस्थकर फेला पर्ने गरेका छन् । अखाद्य रङको प्रयोग अस्वस्थकर भण्डार र फोहोर बनाउने ठाउँ समस्याका रूपमा रहेका छन् । नियामक निकायले अनुगमन गर्दै आएका भए पनि त्यसको निरन्तरता र कारबाहीको पक्ष निकै कमजोर छ ।



यस्तै समस्या फलफूलमा पनि छ । फलफूलमा रासायनिक वस्तुको प्रयोग मुख्य समस्याका रूपमा छ । जनस्वाथ्यसँग जोडिएको यस पक्षमा नियामक निकायले ध्यान दिन आवश्यक छ । उत्पादक तथा व्यापारी÷व्यवसायीले चाडपर्वलाई केवल कमाउने मौकाका रूपमा नलिई उपभोक्ताको स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ । तिहारमा विस्फोटक पटकाको प्रयोग पनि समस्याका रूपमा रहेको छ । भारतीय बजारबाट ठूलो परिमाणमा पटका भित्रिने गरेको छ । व्यक्तिगतरूपमा पनि पटकाको प्रयोग जोखिमपूर्ण छ । केही वर्षयता पटका प्रयोग भने घटेको पाइन्छ । पटकाबाट हुन सक्ने क्षतिलाई ध्यानमा राखेर नियन्त्रणमा निरन्तर कडाइ गर्न आवश्यक छ ।

महान चाड तिहारले समस्त नेपालीमा सद्भाव र सहअस्तित्व अभिवृद्धि गरोस् । सबैको मन फूलजस्तै कोमल र सुन्दर बनोस्, दीपावलीको दीपजस्तै उज्यालो बनोस्, समृद्धिको ढोका खुलोस् । देशमा राजनीतिक स्थायित्व, कायम हुन सकोस्, मुलुक समृद्धितर्फ उन्मुख होस् र यसका लागि मार्ग तयार होस् । समस्त नेपालीमा तिहारको हार्दिक शुभकामना ।