प्याब्सन कास्कीले स्थापना दिवस मनायो

पोखरा, २५ पुस ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) कास्कीले आप्mनो ३१औं स्थापना विविध कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्यालले देशको शिक्षाको विकासमा निजी क्षेत्रको उल्लेखनीय योगदान रहेको बताए । उनले हरेक विद्यार्थीमा केही न केही क्षमता हुने हुँदा त्यसको पहिचान गरी सृजनशिलतामा ध्यान दिनुपर्ने खाँचो औंल्याए ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले समृद्घि हासिल गर्न पैसा कमाउनु पर्ने, पैसा कमाउन केही बेच्नु पर्ने र केही बेच्नका लागि उत्पादन एवं आविष्कार गर्नुपर्ने कुरालाई आफूले बुझ्न २२ वर्ष लागेको र त्यसपछि राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेको बताए ।
प्याब्सन केन्द्रीय कार्यसमितिका सल्लाहकार डोलराज पाण्डेले प्याब्सनको परिचयसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायण प्रसाद सुवेदी, पोखरा महानगरपालिका शिक्षा शाखाका प्रमुख हेमप्रसाद आचार्य, प्याब्सन केन्द्रीय कार्यसमितिका उपाध्यक्ष वीर बहादुर बुढाथोकी, हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेल, नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष रमेशमोहन भट्टराई लगायतले बोलेका थिए ।
प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा सवेदीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मथुरा प्रसाद पौडेलले स्वागत र सञ्चालन सचिव विष्णु शर्माले गरेका थिए ।
आविष्कार केन्द्र र महानगरलाई सहयोग
प्याब्सनले राष्ट्रिय आविष्कार केन्द्रलाई २० हजार रुपैयाँ सहयोग गरेको छ । यस्तै आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई विवरण गर्ने गरी पोखरा महानगरपालिका शिक्षा महाशाखालाई १० हजार रुपैयाँ सहयोग गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।
यस्तै कार्यक्रममा स्थापनाको २५ वर्ष पूरा गरी रजतजयन्ती मनाउने क्रममा रहेका छ वटा विद्यालयहरू ग्लोबल कलिजियट स्कुल, नेपाल आदर्श आवासीय विद्यालय, रेन्बो एकेडेमिक होम्स् माध्यमिक विद्यालय, न्यू एरा एकेडेमी माध्यमिक विद्यालय, सबलाइम अंग्रेजी माध्यमिक विद्यालय र लिटिल डेफोडिल माध्यमिक बोर्डिङ स्कुललाई सम्मान गरिएको थियो । यस्तै २० वर्षसम्म निरन्तर सेवा गर्दै आएका १८ जना शिक्षक र कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो ।