पाल्पाली ढाका संकटमा

पाल्पा, १७ पुस ।
ढाका टोपी भन्नेबित्तिकै धेरैलाई पाल्पाको सम्झना आउँछ । २०१५ सालमा नेपालमै पहिलो पटक तानसेनबाट शुरु भएको पाल्पाली ढाका अहिले ओझेल पर्दैछ । कामदारको अभाव, कच्चा पदार्थ पाउन मुस्किल लगायतका कारण पनि ढाका सङ्कटमा परेको हो ।
स्वर्गीय गणेशमान महर्जनले पाल्पाली ढाकाको व्यवसाय सुरु गरेका थिए । पाँच सयभन्दा बढी कामदारलाई रोजगारी दिएर ढाकाको उद्योग चलाएको सम्झने स्वर्गीय गणेशमानकी श्रीमती ८२ वर्षीया पूर्णमाया महर्जनले अहिले पाल्पालीको नाउँमा केही व्यापारीहरुले गोरखपुरलगायत पूर्वेली ढाका ल्याएर सस्तोमा बेच्दा पनि समस्या भएको बताइन् ।
पहिले ढाका टोपी र चोली मात्रै चलनमा थियो । केही वर्ष अघिदेखि खस्किँदो ढाकालाई उकास्न ढाकाको उत्पादनलाई विविधीकरण गरियो । ढाकाकै पर्स, झोला, टाइलगायत विभिन्न सामग्री बन्न थाले । धेरैले रोजगारी पनि पाए ।
छिटो बुनिने हुँदा पछिल्लो समय पाल्पाली ढाका हातेतानभन्दा पनि मेशिनबाट चल्ने जेकार्ड हाते तानमा बुन्ने गरिन्छ । २०१५ सालमा तानसेनमा हाते तान शुरु गरे पनि विस्तारै यसको मेहनतअनुसारको आम्दानी हुन छाडेपछि जेकार्डबाट बुन्न थालिएको महर्जनले बताइन् ।
‘यहाँ उत्पादन गरिएको ढाका ३६ जिल्लामा माग भई पठाइयो, कमाई राम्रै भइरहेको थियो,’ महर्जनले भनिन्, ‘अहिले बाहिरबाट आयातित ढाकाले गर्दा यहाँको उत्पादन कम हुन थालेको छ, तैपनि उद्योग बन्द हुन भने दिने छैन ।’
ढाका व्यापारी हरि रायमाझीका अनुसार अहिले पनि तानसेनबाटै वार्षिक चार करोडभन्दा बढीको कारोबार ढाका व्यवसायबाटै हुन्छ । तर पाल्पालीभन्दा बाहिरबाटै ल्याएका ढाका यहाँबाट बेचिएका छन् । पाल्पा चिनाउने ढाका अहिले सङ्कटमा रहेकोमा निकै चिन्ता लागेको उनले बताए ।
पाल्पाको पहिचान झल्कने ढाका कपडा उद्योगलाई बचाइराख्न प्रदेश सरकारसँग समन्वय भइरहेको पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु महर्जनले बताए । उनले भने, ‘जिल्लाको राम्रो पहिचान बोकेको ढाका स्वदेशमा मात्र नभई अन्तरराष्ट्रियस्तरमा प्रख्यात छ, यसको संरक्षणमा उद्योग वाणिज्य सङ्घ लाग्नेछ, ढाकाको पहिचान मेटिन दिने छैनौं ।’
पाल्पा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले कोशेली तथा मायाको चिनोका रुपमा ढाका कपडा, ढाका कपडाबाट उत्पादित सामग्री झोला, हाते पर्स, पछ्यौरा, इस्टकोट, टोपी लैजाने चलन छ ।
यहाँको ढाका असली र गुणस्तरीय तथा छुट्टै पहिचान बोकेकाले पनि खोजीखोजी ढाका कपडा तथा यसबाट उत्पादित सामग्री लैजाने गर्छन् । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको अभिलेखमा १९ वटा ढाका उद्योग दर्ता भए पनि हाल मुस्किलले आठ-नौ वटा उद्योग सञ्चालनमा छन् ।
देश तथा विदेशमा प्रख्याति कमाएको ढाका र करुवाले जिल्लाको पहिचान बढाएको छ । पाल्पा नाम सुन्नेबित्तिकै जो कसैलाई पनि ढाका र करुवाको स्मरण हुने गर्दछ । जिल्लाकै गौरव र विकासमा ठूलो टेवा पु¥याएको छ ढाका र करुवाले । ढाका र करुवाकै कारण यहाँ दिनहुँ थुप्रै पर्यटक भित्रने गर्दछन् । यहीँ ढाका कपडा र करुवाकै कारण पाल्पाको देश तथा विदेशमा प्रख्याति बढ्दै गएको छ ।
यहाँका महिलाको आयस्रोतका माध्यम नै ढाका पसल बनेको थियो । ढाका कपडाको व्यापारबाट जिल्लाका हजारौँ मानिसलाई रोजगारीको गर्ने अवसर मिलेका बखत बाहिरबाट सामान भित्रन थालेपछि रोजगारी नै खोसिन थालेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले पाल्पाली ढाका तथा करुवाको संरक्षणमा कार्यालयले निकै चासो दिएको जनाएको छ । पाल्पालाई चिनाउने ढाकाको चोली, टोपी पाल्पा आउने पाहुनालाई उपहारका रुपमा दिने अहिले पनि चलन छ । कतिपय बाहिरी जिल्ला तथा विदेशी पर्यटकले समेत पाल्पा आउँदा पाल्पाली ढाका र करुवा चिनोको रूपमा लैजाने गर्दछन् । यसको संरक्षणमा सम्बन्धित पक्षले ध्यान पुर्याउन नसके लोप हुनेमा स्थानीयवासी चिन्ता व्यक्त गर्छन् ।
तानबाट ढाका कपडा बुनेर यहाँका धेरै महिला स्वरोजगार बने । घरखर्च चलाउन छोराछोरीलाई पढाउन आर्थिक अभाव झेल्दै आएका जिल्लाका ग्रामीण भेगका महिलाका लागि पाल्पाली ढाका कपडा बुन्ने एउटा राम्रो रोजीरोटीको माध्यम भएको हुँदा यसको संरक्षण र प्रवर्द्धनमा राज्यले विशेष ध्यान पुर्याउनुपर्ने माग स्थानीयवासीको छ ।