विहादीमा प्याराग्लाइडिङ पूर्वाधार निर्माण शुरु

पर्वत, २२ पुस ।

पर्वत जिल्लाको विहादी गाउँपालिकामा प्याराग्लाइडिङ पूर्वाधार निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट विनियोजित रकम रु. २० लाख लागतमा विहादीको लुङरिङ डाँडामा प्याराग्लाईडिङका लागि आवश्यक पूर्वाधार निर्माण गर्न थालिएको हो ।

रमणीय पर्यटकीय क्षेत्र मानिने लुङरिङ डाँडाबाट प्याराग्लाइडिङ उडान (टेकअफ) गर्ने र इमिचौर र दुर्लाङमा अवतरण (ल्याण्ड) गर्ने गरी काम थालिएको हो । यहाँ प्याराग्लाईडिङको सफल परीक्षण गरिएसँगै पूर्वाधारको काम थालिएको प्याराग्लाईडिङ पूर्वाधार निर्माण समितिका अध्यक्ष जितबहादुर नेपालीले बताए ।

२० लाख रकमबाट उडान गर्ने स्थानको धावनमार्ग सुधार, शौचालय, प्रतिक्षालय, कार्यालय लगायतका संरचना निर्माण गरिनेछ । उक्त संरचनाको निर्माण कार्य तीन महिनाभित्रै सम्पन्न गरी प्याराग्लाईडिङको संस्था दर्ता गर्ने प्रक्रिया अघि बढाइने छ ।

प्याराग्लाईडिङ उडान गर्ने स्थान करिब दुई हजार मिटरको उचाइमा छ । प्याराग्लाईडिङको सम्भाव्यता र दृश्याअवलोकनका लागि राम्रो देखिएपछि गण्डकी प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजन गरेको हो ।

प्रदेश सरकारले विहादी गाउँपालिकासहित पाँच स्थानमा प्याराग्लाईडिङको पूर्वाधार निर्माण कार्य थालेको छ ।

विहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भूषालले प्याराग्लाईडिङ पूर्वाधार निर्माण कार्यको शिलान्यास गरेका छन् । भूषालले पर्यटनको महत्वपूर्ण आधार मानिने प्याराग्लाईडिङले समग्र विहादी गाउँपालिकाको भविष्यलाई उज्ज्वल बनाउने विश्वास व्यक्त गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close