सडक पार्किङ गर्ने ठाउँ होइन, नागरिक आफैले बुझ्नुपर्छ : मेयर जिसी

-हरि पन्त
पोखरा, ५ पुस ।

पार्किङ शुल्क लिएकोप्रति चौतर्फी विरोध भइरहेका बेला पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सडक पार्किङका लागि नभएको बताएका छन् । उनले सडक पार्किङ गर्ने ठाउँ हो कि होइन यस्ता कुरा नागरिक र सामाजिक अभियान्ता स्वयंले बुझ्नुपर्ने प्रतिक्रिया दिए ।

‘सडक गाडी गुडाउनका लागि हो, पार्किङ गर्न होइन । यसमा सामाजिक अभियान्ताले नै बुझ्नुपर्यो’, मेयर जिसीले एक कुराकानीमा भने ।

उनले पार्किङ शुल्क होइन, पार्किङ व्यवस्थापन शुल्क लिएको स्पष्ट पारे । महानगरपालिकाको आफ्नो जग्गा कतै नभएको भन्दै उनले जग्गाको खोजी गरिरहेको बताए । पार्किङ शुल्क नियमसंगत ढंगले लिएको भन्दै मेयर जिसीले महानगरपालिका ऐन कानून अनुसार नै अघि बढेको जानकारी दिए ।

उच्च अदालतमा मुद्धा

पार्किङ ठेक्का रद्ध गर्न माग गर्दै उच्च अदालत पोखरामा मुद्धा दायर भएको छ । अधिवक्ता राजेन्द्रमान श्रेष्ठ र जागौं नेपाल राष्ट्रिय अभियान कास्कीका संयोजक नारायणहरि तिवारीले पोखरा महानगरपालिका विरुद्ध अदालतमा रिट दायर गरेका हुन् ।

जागौं नेपाल राष्ट्रिय अभियान कास्कीका संयोजक तिवारीले पार्किङ शुल्क लिने निर्णय फिर्ता लिनका लागि पटक पटक ध्यानाकर्षण गराए पनि महानगरपालिकाले अटेर गरेपछि अदालत पुगेको बताए ।

उनले पार्किङ शुल्क तिर्न जनता तयार भए पनि व्यवस्थित पार्किङ स्थल हुनुपर्नेमा जोड दिए । कोरोना महामारीमा पनि पार्किङ स्थलको व्यवस्था नगरी शुल्क उठाउनु विडम्वना भएको बताए । आफूहरुको एकमात्र माग व्यवस्थित पार्किङ स्थल हुनुपर्छ, सडकमा पार्किङ गर्न लगाएर सडक अस्तव्यस्त बनाउन नहुने बताए ।

पोखराका सामाजिक अभियान्ता शिवाराज बस्ताकोटी (शिवदाई) ले महानगरपालिकाले खाली जग्गामा भवन बनाएर भाडा लिने र सडकमा पार्किङ गर्न लगाएर पनि शुल्क लिने गरेको भन्दै आपत्ति प्रकट गरे । महानगरले खाली जग्गाको खोजी गरेर व्यवस्थित पार्किङ स्थल बनाउनुपर्ने उनको जोड छ ।

व्यवस्थित पार्किङका लागि कुनै ध्यान नदिइ ठेक्का पट्टामार्फत पैसामात्र अशुल्ने काम जनताका लागि न्यायोचित नहुने उनले स्पष्ट पारे । महानगरपालिकाले पार्किङका लागि कहिंकतै स्थान नतोकेको भन्दै जनताको कर दुरुपयोग गरेको उनले आरोप लगाए ।

उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले पोखरा महानगरपालिकाले सडकमा अव्यवस्थित ढंगले पार्किङ गर्न लगाएर चर्को शुल्क उठाएको गुनासोसहित मुद्धा दायर भएको जानकारी दिए । उनले अब अब दुवै पक्षलाई छलफलमा राखेर अघि बढ्ने स्पष्ट पारे ।

चौतर्फी विरोध

पोखरा महानगरपालिका भित्रको पार्किङ शुल्क व्यवस्थापनको ठेक्का प्रक्रियाप्रति चौतर्फी विरोध हुँदै आएको छ । कोरोना महामारीले आक्रान्त जनतासँग सार्वजनिक सडकमा पनि पार्किङ शुल्क उठाउन थालिएपछि चर्को विरोध भएको हो ।

केही दिन अघि गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले पनि पार्किङ शुल्क लिएकोप्रति विरोध गरेका थिए ।

पोखरा महानगरपालिकाले सार्वजनिक सडकमा पार्किङ गरिएका सवारी साधनबाट चर्को दररेटमा पार्किङ शुल्क अशुल्न थालेपछि नागरिकस्तरबाट विरोध शुरू भएको हो ।

जागौं नेपाल राष्ट्रिय अभियान कास्कीले पोखरा महानगरपालिकाको कार्यालयको गेटमा विरोध प्रदर्शन गर्दै आएको थियो । यो अभियानलाई पोखरेलीले पनि साथ दिएका थिए ।

पार्किङ शुल्क कति ?

महानगरले फेवा र सावित्री जेभीलाई दुई वर्षसम्मका लागि तीन करोड १६ लाख रुपैयाँमा नगरभित्र पार्किङको शुल्क उठाउन ठेक्का दिएको हो । ठेक्का प्रक्रियामा विवाद र कोरोनाका कारण स्थगित सम्झौता गत मंसिर २८ गतेदेखि लागू हुने गरी सम्झौता भएको थियो ।

सम्झौताअनुसार नगरका विभिन्न १६ ठाउँ यकिन गरी पार्किङबापत मोटरसाइकलले १० रुपैयाँ तिर्नुपर्छ । जीप, कार भ्यान र ट्याक्सीले ठाउँअनुसार प्रतिघण्टा १५ देखि २५ रुपैयाँ बुझाउनुपर्नेछ । मिनी बस र माइक्रोबसले २० देखि ३० एवं ट्रक तथा बसले ३० देखि ५० रुपैयाँ तिर्नुपर्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close