पोउवासंघ चुनाव : विन्दु कोइराला सुवेदीद्धारा प्यानल घोषणा, को-को छन् टिममा ?

पोखरा, १५ पुस ।

पोखरा उद्योग वाणिज्य संघको आशन्न चुनावका लागि विन्दु कोइराला सुवेदीले स्वतन्त्र समूहको प्यानल घोषणा गरेकी छन् । उनी वर्तमान उपाध्यक्ष हुन् । उनले १४ वर्षदेखि संघको विभिन्न पदमा रहेर काम गरिसकेकी छन् । स्वतन्त्र समूहको नामबाट उनले प्यानल घोषणा गरेकी हुन् ।

सुवेदीको प्यानलबाट वाणिज्य उपाध्यक्षमा वर्तमान कार्यसमिति सदस्य सोवित पौडेलले उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तै महासचिवमा पूर्व कोषाध्यक्षसमेत रहेका धनीराम बराल र कोषाध्यक्षमा वर्तमान कार्यसमिति सदस्य तारानाथ ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् । संघको उपमहासचिवमा धर्मराज बर्तोलाले उम्मेदवारी दिएका छन् । उनी गृहलक्ष्मी ग्यास कम्पनीका सञ्चालक हुन् ।

यसैगरी संघको कार्यसमिति सदस्य पदमा पवित्रा गुरुङ, विनोद केसी, रामप्रसाद गौतम र उत्तम कार्कीले सुवेदी प्यानलबाट उम्मेदवारी घोषणा गरेका छन् । संघको कर्पोरेट, उद्योग र वस्तुगत सदस्यको उम्मेदवार भने पछि घोषणा हुने भएको छ ।

वरिष्ठ उपाध्यक्षमा पवन प्रजापतिलाई सघाउने

सुवेदीको स्वतन्त्र समूहले संघको वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला समूहबाट उम्मेदवारी घोषणा गरेका पवनकुमार प्रजापतिलाई सघाउने भएको योसंगै प्रजापति वरिष्ठ उपाध्यक्षमा निर्विरोध हुने सम्भावना बढेको छ ।

‘पोउवासंघ नेवार समुदायले स्थापना गरेको र फेरि पनि नेवार समुदायबाट उम्मेदवारी घोषणा गर्नुभएका पवन प्रजापतिलाई सघाउने भएका छौं’, अध्यक्ष पदकी उम्मेदवार सुवेदीले पत्रकार सम्मेलनमा भनिन् । सुवेदीको समूहबाट वरिष्ठ उपाध्यक्ष पदमा कसैले उम्मेदवारी घोषणा गरेका छैनन् ।

यस्तो छ समूहको प्रतिवद्धता

सुवेदीको स्वतन्त्र समूहले विभिन्न प्रतिवद्धतासहित उम्मेदवारी घोषणा गरेको छ । जसमध्ये मौद्रिक नीतिले ल्याएको व्यवसायिक उत्थान कोषको कार्यान्वयनमा जोड, महिला तथा युवा उद्यमी स्वरोजगार लक्षित कार्यक्रमलाई प्राथमिकता, संघको लक्ष्य अनुसार शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको आधुनिकीकरणमा पहल गर्ने रहेका छन् ।

यस्तै, कोरोनाका कारण थला परेको व्यवसायिक पीडालाई मल्हम लगाउन विशेष योजनासहित सरकार र बैंकहरुसंग सहकार्य गर्ने, घरघरमा संघ भन्ने अवधारणालाई अवम्वन गर्दै सबै उद्योगी, व्यवसायीका समस्या समाधान र गुनासोका लागि प्रविधिमैत्री वातावरण सृजना गर्ने प्रतिवद्धता समूहको छ ।

यसैगरी फुटपाथ र पार्किङलाई व्यवस्थित गर्न आवश्यकीय स्थान पहिचान गरि सरोकारवालासंद्ध समन्वय गर्ने, साना, मझौला तथा ठूला उद्योगी व्यवसायीमा प्रतिस्पर्धी क्षमता विकास गराउन आवश्यक तालिम, अध्ययन अवलोकन भ्रमण र गोष्ठी आयोजना गर्ने, केन्द्र, प्रदेश र जिल्ला नगर उद्योग वाणिज्य संघले व्यवसायिक हितका लागि अंगीकार गरेका कुरालाई कार्यान्वयन गर्दै सम्बन्ध थप प्रगाढ बनाउने प्रतिवद्धता पनि सुवेदी समूहको छ ।

वस्तुगत संघ तथा निजी क्षेत्रका विभिन्न संघसंस्था बीच समन्वय र सहकार्य गर्दै व्यवसायीको हितमा योजना ल्याउने, रोजगारी सृजनाका लागि व्यवसायी र रोजगारी चाहनेका लागि आवश्यक जानकारीसहित संघको सचिवालयमा छुट्टै डेक्स स्थापना, पोखरामा आवश्यक सम्भावित व्यवसायको जानकारीका लागि सबै खाले सूचना उपलव्ध हुने हेल्प डेक्स स्थापना गर्ने र संघको आर्थिक अवस्था उकास्न आर्थिक सवलीकरणका योजना अघि बढाउने समूहको प्रतिवद्धता छ ।

संघमा मेरो उम्मेदवारी अपरिहार्य : सुवेदी

संघको विभिन्न जिम्मेवारीमा रहेर आफूले १४ वर्षको काम गरेको भन्दै सुवेदीले संघ र उद्योगी व्यवसायीका सबै समस्याप्रति आफू जानकार र गम्भीर रहेको बताइएकी छन् ।

उपाध्यक्षमा रहेर दुई कार्यकाल काम गर्दा अग्रजलाई गर्नुपर्ने सम्मान र व्यवसायीको चाहनालाई नजिकबाट नियाल्ने अवसर पाएको भन्दै उनले संघ र उद्योगी व्यवसायीको समस्यालाई संवोधनसहित परिवर्तित अवस्थामा अग्रगामी कदम अघि बढाउन सकिन्छ भन्ने उद्देश्यले उम्मेदवारी घोषणा गरेको स्पष्ट पारिन् ।

आफ्नो स्वतन्त्र समूह कुनै निश्चित समूहमा केन्द्रित नभइ समावेशी समूह भएको अध्यक्ष पदका उम्मेदवार सुवेदीको दावी छ । सुवेदीले भनिन्, ‘देशको वर्तमान राजनीतिक खिचातनी र अस्थिरतासंग नजोडिइकन व्यवसायिक स्थायित्व र संघलाई दीर्घकालीन बनाउनका लागि मेरो उम्मेदवारी अपरिहार्य हो ।’

सुवेदीको हिम्मत र क्षमता अद्भूत : बराल/ढुंगाना

स्वतन्त्र समूहबाट संघको भावी महासचिवमा उम्मेदवारी घोषणा गरेका धनीराम बराल र कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका तारानाथ ढुंगानाले आफ्नो समूहका अध्यक्ष पदका उम्मेदवार विन्दु कोइराला सुवेदीको हिम्मत र अद्भूत क्षमता देखेरै साथ दिएको बताएका छन् । उम्मेदवारी घोषणा कार्यक्रममा बराल र ढुंगानाले आफूहरुको समूहले जित्ने दावी समेत गरे ।

महासचिवका उम्मेदवार बराल संघका पूर्व कोषाध्यक्ष हुन् भने कोषाध्यक्ष पदका उम्मेदवार नेपाल मदिरा व्यवसायी महासंघका वर्तमान केन्द्रीय महासचिव हुन् ।

उनीहरुले भने, ‘हामीहरु संघमामात्रै होइन, विभिन्न संघसंस्थामा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभव छ । यही अनुभव संघमा प्रयोग गरेर संघको गरिमालाई थप उचाइमा पुर्याउनेछौं ।’ संघमा रहेर सबैलाई बराबर सम्मान गर्दै संघको सर्वोपरि हितमा दृढतापूर्वक लाग्ने बराल र ढुंगानाको प्रतिवद्धता छ ।

दिलो ज्यान दिएर काम गर्छु : पौडेल

संघको अशन्न वाणिज्य उपाध्यक्ष पदका उम्मेदवार सोवित पौडेलले संघलाई गतिशील बनाउन आफूले दिलो ज्यान दिएर काम गर्ने प्रतिवद्धता जनाएका छन् । पौडेल पोखरास्थित पूरानो डाँफे होटल तालिम केन्द्रका सञ्चालक समेत हुन् ।

पौडेलले एक कार्यकाल संघमा सदस्य भएर काम गरेको र विभिन्न संघसंस्थामा नेतृत्वदायी जिम्मेवारी बहन गरिसकेको भन्दै यी सबै अनुभवले आफू सक्षम उम्मेदवार भएको स्पष्ट पारे । सपना देखाउने भन्दा पनि काम गरेर देखाउने भन्दै उनले आफू सधैं उद्योगी र व्यवसायीको साथमा रहने प्रतिवद्धता जनाए ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close