पोउवासंघको चुनाव : नारायण कोइरालाको समूह सक्रिय

उम्मेदवारसंग प्रत्यक्ष भेट्न पाउँदा मतदाता उत्साहित भए : कोइराला

पोखरा, २० पुस ।

पोखरा उद्योग वाणिज्य संघको चुनाव नजिकिएसंग उम्मेदवारहरुलाई चुनावी रन्को लागेको छ । संघको अधिवेशन यही पुस २४ गते शुरु भएर २५ गते चुनाव हुँदैछ ।

यसका लागि मनोनयन दर्ता भइसकेको छ भने उम्मेदवारी फिर्ताको कार्यक्रम मंगलबारलाई तय गरिएको बताइन्छ । संघको अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने भएकाले महत्वका साथ हेरिएको छ ।

उम्मेदवारी मनोनयन भएसंगै उम्मेदवारहरु उद्योगी व्यवसायीसंग मत माग्न र आफ्ना प्रतिवद्धता राख्न व्यस्त छन् । उक्त अवसरमा उद्योगी व्यवसायीले विभिन्न प्रकारका गुनासो सुनाएका छन् ।

संघको चुनावका लागि नारायण कोइरालाको समूह एक साता अघि उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा होमिएकोे थियो । नारायण कोइरालाको प्यानलमा रहेका उम्मेदवारहरु यतिबेला निकै सक्रिय भएर मतदाता भेटघाटमा लागेका छन् । पोखराको लेकसाइड बाहेक अन्य महत्वपूर्ण बजारका उद्योगी व्यवसायीसंगको भेटघाट कार्यक्रम सकिएको सो समूहको सदस्य पदका उम्मेदवार हरिराज पन्तले जानकारी दिए ।

उनका अनुसार उक्त समूहले आज पोखराको विन्ध्यवासिनी, मोहरियाटोल, भीसेनटोल, तेर्सापाटी, गणेशटोलका साथै चिप्लेढुंगा र महेन्द्रपुलका उद्योगी व्यवसायीसंग भेटघाट गरेको थियो । उक्त अवसरमा उद्योगी व्यवसायीले नारायण कोइराला र उनको टिमबाट धेरै आशा गरेको बताएका थिए ।

साथै विभिन्न उद्योगी, व्यवसायी, वस्तुगत संघसंस्थाका साथै संघका आग्रजहरुसंगको भेटघाटसंगै छलफल पनि तीव्र बनाइएको समूहका महासचिव पदका उम्मेदवार सुरेन्द्रमान विजुक्छेले जानकारी दिए । उनका अनुसार पोखरामा एक प्रकारको चुनावी माहोल रनक्क तातिसकेको छ ।

अध्यक्ष पदका उम्मेदवार नारायण कोइरालाले कोरोनाबाट उकुसमुकस भएको अवस्थामा आफूहरुले भेट्दा उद्योगी व्यवसायी निकै हर्षित भएको बताए । उनले भने, ‘हामीसंग उद्योगी व्यवसायीले आफ्ना समस्या खुलेर राखेका छौं । हामीले पनि धैर्य गर्न आग्रह गर्दै हाम्रो प्रतिवद्धता सुनाएका छौं । एक प्रकारको अन्तरक्रिया जस्तो पनि भएको छ ।’

को-को छन् टिममा ?

संघको आशन्न चुनावमा अध्यक्ष पदमा नारायण कोइराला, वाणिज्यतर्फको उपाध्यक्षमा अर्जुन पोखरेल र उद्योग तर्फबाट चिनु गुरुङ, महासचिवमा सुरेन्द्रमान विजुक्छे, कोेषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्रीले उम्मेदवारी मनोनयन गराएका छन् ।

यस्तै संघको कार्यकारिणी सदस्यमा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा कुमारी मुना बाँस्तोला, दिनेशचन्द्र बाँस्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी, सुदन बहादुर कोइरालाका साथै एशोसिएट सदस्यमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी मिराज छन् ।

यो समूहमा प्यानलमा कार्यसमिति सदस्यमा तीन जना सदस्यबाहेक सबै पुराना र संघको विभिन्न पदमा रहेर महत्वपूर्ण जिम्मेवारी वहन गरिसकेका अनुहार छन् । यस्तै समूहमा शोभा गौतम, भरत केसी, सुदनबहादुर कोइराला पनि विभिन्न संघसंस्था र व्यवसायमा लामो अनुभव बटुलेका छन् । कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका देवेन्द्र केसीलाई वर्तमान अध्यक्ष दामु अधिकारीले आफ्नो कार्यसमितिमा मनोनित गरेका थिए ।

नारायण कोइरालाको टिमले मतदातासमक्ष व्यक्त प्रतिवद्धताहरु के-के हुन् ?

संघको नयाँ टिमका लागि कोइराला प्यानलले विभिन्न ११ बुँदे प्रतिवद्धता समेत जनाएको छ । प्यानलले कोरोना भाइरसले निम्त्याएका विषमतालाई चिर्दै व्यवसायीहरुको हित रक्षा गर्ने, संघले अंगिकार गरेको शिक्षा, स्वास्थ्य, पर्यटन सहरको रुपमा अझ विकसित बनाउन र कृषिको आधुनिकीकरण गर्नेतर्फ थप पहलकदमी गर्ने प्रतिवद्धता जनाएको छ ।

यसैगरी पोखराको फुटपाथ व्यापार र पार्किङ समस्या समाधानका लागि पहल गर्ने पनि कोइराला टिमको प्रतिवद्धता छ । स्टार्ट अफ विजनेशलाई प्रवर्द्धन र अनुसन्धानात्मक गतिविधिलाई समेटेर युवाहरुलाई व्यवसायमा ल्याउने, साना र ठूला लगानी गरेर व्यवसाय गर्ने सबै व्यवसायी र उद्योगीलाई संघमा समेट्ने, उद्योगी र व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तनमा सक्रिय रहने सो टिमको प्रतिवद्धता छ ।

यस्तै, उद्योगी व्यवसायीहरुमा प्रतिस्पर्धी क्षमता विकास गराउन र उत्पादनको बजारीकरणमा सघाउन तालिम, भ्रमण र गोष्ठीको व्यवस्थापन गर्ने, संघको सचिवालयलाई अझ सुदृढिकरण गर्दै सदस्यको घरघरमै आवश्यक सेवा र सुविधा पुर्याउने, अग्रजको सम्मान र सदस्यको चाहना बमोजिमका कार्यक्रम अघि बढाउने, कोरोनाले धराशायी बनेको पर्यटन र यातायात क्षेत्रको पुनर्उत्थान गर्न सरोकारवालासंग सहकार्य गर्ने र नेपाल उद्योग वाणिज्य महासंघसंगको सम्बन्ध र सहकार्यलाइ अझ बलियो बनाउने कोइराला टिमको प्रतिवद्धता छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close