पोखराका चोकचोकमा फोहोर थुप्रियो, कारण के हो ?

पोखरा, २१ पुस ।

पोखराको मुख्य बजारहरु फोहोरका कारण दुर्गन्धित भएको छ । मुख्य बजारका चोकचोकमा फोहोर थुप्रिएपछि बजार दुर्गन्धित भएको हो । पोखराको चिप्लेढुंगा क्षेत्रमा प्रत्येक चोक र रुखका फेदमा फोहोरको थुप्रो देखिन्छ ।

कतिपय स्थानमा कुकुर र गाइले खोस्रिरहेको देखिन्छ । चिप्लेढुंगाका स्थानीयले एक सातादेखि फोहोर लिन महानगरपालिकाको गाडी नआएको गुनासो गरेका छन् ।

किन थुप्रियो फोहोर ?

पोखरा महानगरपालिकाको सरसफाइ महाशाखाले ल्याण्डफिल्ड साइडमा गाडी जाने सडक अवरद्ध भएपछि फोहोर उठाउन कठिन भएको जनाएको छ ।

महानगरको सरसफाइ शाखाकी कल्पना बरालले ल्याण्डफिल्ड साइट जाने बाटो पिच गर्नेक्रममा रहेको र त्यसले सडक अवरद्ध भएका कारण तीन दिनदेखि फोहोर उठ्न नसकेको जानकारी दिइन् ।

‘तीन दिनदेखि पोखराको मौसम बिग्रिएका कारण घाम नलाग्दा पिच हुन सकेन । जसले समस्या भयो’, उनले भनिन् । आवश्यक तापक्रम नपुगे पिच गर्न समस्या पर्ने प्राविधिकहरुले बताएको उनले स्पष्ट पारिन् ।

‘करिब ७० मिटर सडकमा अलकत्रा छरेर मात्र राखिएकोले गाडी जान अवरुद्ध भएको छ’, बरालले भनिन्, ‘त्यहाँ पिच नगरी गाडी लैजान समस्या छ ।’

बरालको भनाइ अनुसार तापक्रम पुग्ने गरी घाम नलागेसम्म पिच हुन सक्दैन । यसका लागि अझै तीन चार दिन लाग्ने देखिन्छ ।

उनले सिटी एरियामा फोहोर बढ्दै गएकाले वैकल्पिक ठाउँको व्यवस्था गरेर फोहोर उठाउन लागिएको बताइन् । ‘न्यूरोड क्षेत्रको फोहोर उठाइसक्यौं । आज साँझ र भोलि बिहानसम्ममा महेन्द्रपुल चिप्लेढुंगाको पनि उठाउँछौं’, बरालले भनिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close