जवज सिद्धान्त माधवजीले होइन, केपी ओलीले नै छाडेको हो : प्रचण्ड

पोखरा, २८ पुस ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रुपले विभाजन भएको छ । अब कानूनीरुपले मात्र फुट्न बाँकी छ । पार्टी विभाजनसंगै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल एकतिर र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली अर्कातिर भएका छन् ।

वरिष्ठ नेता नेता प्रचण्ड पक्षमा उभिएपछि दुवै नेकपाभित्र नेता नेपालले जनताको बहुदलीय जनवाद (जवज) को सिद्धान्त छोडेको आरोप लादै आएको छ ।यस्तै अवस्थामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नेपालले जवज सिद्धान्त नछोडेको स्पष्ट पारेका छन् ।

पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलामा अध्यक्ष प्रचण्डले भने, ‘जवज सिद्धान्त केपी ओलीले छोडेको हो । माधवकुमार नेपालले होइन ।’

केपी ओलीले पार्टीको निर्णय नमान्ने, आफैले हस्ताक्षर गरेका निर्णयहरु नमान्ने, आफूखुशी काम गर्दा पार्टी र देशमा समस्या आएको उनले बताए ।

प्रधानमन्त्री ओलीले विभिन्न भेलाहरुमा व्यंग्य गरेकोप्रति लक्षित गर्दै उनले भेला हास्यव्यंग्य गर्ने ठाउँ नभएको बताए । पार्टीलाई नयाँ संकल्पहित आन्दोलनलाई थप उचाइ दिनका लागि भेला आयोजना गरिएको अध्यक्षको प्रचण्डको भनाइ थियो । भेलामा देश र जनताका लागि अत्यन्त गम्भीर भएर विचार विमर्श गर्न लागिएको स्पष्ट पारे ।

पदका लागि पार्टी फु्टाउन खोजिएको भन्ने व्याख्या सत्य नभएको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘सत्य र गलतको लडाइँ, विधि र पद्धतिको लडाइँ, जनताको आकांक्षा पूरा गर्ने नगर्ने बीचको लडाइँ र क्रान्ति र प्रतिक्रान्ति बीचको लडाइले पार्टी यो अवस्थामा आएको हो ।’

उनले नेकपा नफुटेको भन्दै देशभर एकताको सन्देश लिएर जान कार्यकर्तालाई निर्देशन दिए । अर्को प्रसंगमा केपी ओलीले जनयुद्ध कुहिएको फर्सी भन्दै हिंडेर पटक पटक अपमान गर्ने प्रयास गरेको आरोप लगाए ।

पार्टी विभाजन पूर्वएमाले र पूर्व माओवादीको नभइ सिंगो नेकपाको भएको स्पष्ट पारे । अहिले माधव नेपालालाई प्रचण्डसंग गएको भनेर आलोचना गर्ने काम भएको भन्दै उनले आफू माधवजी र माधवी आफ्नो पक्षमा भएको बताए ।

सर्वोच्च अदालतले संविधानमा रहेरै फैसला गर्छ भन्नेमा आफू पूर्णरुपमा विश्वस्त रहेको बताए । सर्वोच्च अदालत जनताको अदालत नै भएको भन्दै उनले जनताको भावना र संविधान बाहिर गएर काम गर्दैन भन्ने विश्वासमा रहेको बताए ।

केपी ओलीले विभिन्न भाषा प्रयोग गरेर धम्क्याउँदै आएको भन्दै उनले त्यो धम्कीसंग नडराई संविधानमा जे छ त्यही अनुसार ढुक्क भएर फैसला गर्न उनले सर्वोच्च अदालतसंग आग्रह गरे । केपी ओलीले आफूहरुमाथि अनेक जालझेल गरेको र निरंकुश बनेर राज्य शक्तिको दुरुपयोग गरेको आरोप लगाए ।

पार्टीका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीमा कम्युनिष्टको भावना र नेतामा हुनुपर्ने गुण नभएको आरोप लगाए । प्रधानमन्त्री ओलीले मुलुकमा संकट निम्त्याएको भन्दै यस्तो व्यक्ति कम्युनिष्ट हुन नसक्ने बताए ।

उनले प्रश्न गरे, ‘जनताको चाहना नबुझ्ने, पार्टी नेता र कार्यकर्ताको भावना नबुझ्ने, देशको अवस्था नबुझ्ने । यस्तो व्यक्ति कम्युनिष्ट हुन सक्छ ?’ ओलीले नेता कार्यकर्ता र जनतामा धेरै भ्रमजाल छरिरहेको भन्दै अध्यक्ष नेपालले उनको त्यो भ्रममा नपर्न आग्रह गरे ।

भेलामा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा आफूहरुले आधिकारिक भएको भन्दै पार्टीको नाम, लोगो र झण्डा आफूहरुले नै पाउने दावी गरे । उनले पार्टी विभाजन भएको भन्ने कुरा मनमा नराखी पार्टी एकताका पक्षमा उभिन आग्रह गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close