समाचार

साउन १५, २०७७ बिहिबार

पोखरा, १५ साउन

पोखराका शिक्षासेवी प्रा.डा. राधेश्याम कायस्थको निधन भएको छ । लामो समयदेखि दम रोगबाट ग्रसित कायस्थको ७६ वर्षको उमेरमा आज बिहान ५ बजे पोखरास्थित चरक मेरोरियल अस्पतालमा निधन भएको हो ।

उनी पोखराको नदीपुरस्थित न्यू ग्यालेक्सी उच्च माविका संस्थापक र प्रमुख संरक्षक थिए । कायस्थले पोखराको शैक्षिक विकासमा निकै संघर्ष गरेका छन् ।

उनी पोखरास्थित पृथ्वीनारायण क्याम्पसको सहायक क्याम्पस प्रमुख, विज्ञान संकायका डीन भएर सेवा गरेका थिए । यस्तै उनी पोखरा विश्वविद्यालयको सिनेटर सदस्य, फूलवारीस्थित माउण्ट अन्नपूर्ण स्कूलका पूर्व क्याम्पस प्रमुख समेत हुन् ।

स्व. कायस्थको आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । त्यसअघि कायस्थको पार्थिव शरीरलाई साँघुमुखस्थित निवासमा राखिनेछ । स्व. राधेश्यामका श्रीमती लक्ष्मीमाया, दुई छोरा सञ्जीव र राजु कायस्थ र एक छोरी प्रतिमा श्रेष्ठ रहेका छन् ।