गृहमन्त्री बादल अब के गर्लान् ?

पोखरा, ६ पुस ।

नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले पार्टीको जारी विवादमा अब बीचमा बस्ने समय नरहेको बताएका छन् । सोमबार आफूनिकट नेताहरुसँग मन्त्रीनिवास पुल्चोकमा भएको छलफलमा गृहमन्त्री थापाले सो धारणा राखेका हुन् ।

सरकारमा रहेका कारण पार्टी विवादमा प्रधानमन्त्रीको पक्षमा देखिँदै आएका थापाले संसद विघटनपछि भने कुनै धारणा सार्वजनिक गरेका थिएनन् । उनी प्रधानमन्त्री ओलीकै पक्षमा जाने चर्चा चलिरहेका बेला सोमबार आफ्नै निवासमा भएको भेलाका कारण दबाबमा परेका छन् ।

भेलामा सहभागी सबैजसो नेताले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमलाई समर्थन गर्न नसकिने र उनलाई पनि समर्थन नगर्न आग्रह गरेपछि थापा थप दबाबमा परेका हुन् । भेलामा सहभागीहरुको सुझावपछि गृहमन्त्री थापाले पार्टी विवादमा बीचमा बस्ने ठाउँ नरहेकाले छिट्टै कित्ता क्लियर गर्ने तयारीमा आफू रहेको बताएका थिए ।

‘अब बीचमा बस्ने ठाउँ सकियो, तपाईंहरुको सुझाब अनुसार नै म निर्णय गर्छु, छिट्टै कित्ता क्लियर हुन्छ’, गृहमन्त्री थापाले भने, ‘तपाईहरुको सुझाबभन्दा बाहिर जाँदिनँ ।’

थापाको भनाइपछि नेताहरुले संसदसँग छलफल र भोलि केन्द्रीय समिति बैठक भएका कारण त्यसअघि नै आफ्नो धारणा सार्वजनिक गर्न आग्रह गरेका थिए । उनले सम्भवतः भोलिसम्ममा आफ्नो धारणा सार्वजनिक गर्ने बताए ।

छलफलमा पम्फा भुसाल, देव गुरुङ, हितमान शाक्य, रामदीप आचार्य, अमृता थापामगर, लेखनाथ न्यौपाने, मनोज थापा, यशोदा सुवेदी, सूर्यप्रकाश सुवेदी, मायाप्रसाद शर्मा, युवराज भराई, सुरेश आलेमगर, महेश्वर दाहाल सहभागी थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close