केही व्यक्तिको बद्मासीले सिंगो रेडक्रस बद्नाम भयो : अधिकारी

पोखरा, १८ पुस ।
नेपाल रेडक्रस कास्की शाखाका मन्त्री धर्मराज अधिकारीले भूकम्पको समयमा केही रेडक्रसका पदाधिकारीले आर्थिक अनियमितता गर्दा सिंगो रेडक्रस बद्नाम भएको दुःखेसो पोखेका छन् ।
नेरोसो पवित्र संस्था भएको र नाम सुन्ने बित्तिकै सेवाको भावना मानसपटलमा उत्पन्न हुने भए पनि पछिल्लोक्रममा स्वार्थी व्यक्तिबाट बद्नामको प्रयास भएको उनले बताए ।
नेपाल रेडक्रस सोसाइटी कास्की २/३ उपशाखाको शनिबार १४ औं अधिवेशन उद्घाटन गर्दै उनले यसले नेपाल सरकारले रेडक्रसलाई तदर्थ समितिमा पुर्याएको स्पष्ट पारे । अन्य संस्थामा अधिवेशन भनेको चुनाव बुझिने भए पनि नेरोसोमा विधानमा साधारण सभालाई नै अधिवेशन हुने स्पष्ट पारे ।
संसारका १९२ देशमा रेडक्रसको आफ्नो छुट्टै कानुन भएको र त्यसैअनुरुप रेडक्रस अभियान चलेको भन्दै मन्त्री अधिकारीले नेपाल मात्र यस्तो एक देश हो यहाँ संस्था दर्ता ऐन २०३४ को अनुसार क्लव, समूह, विजनेस संस्था जस्तो गरी दर्ता गरेर चलाउनु परेको बताए ।
उपशाखाका सल्लाहकार टंकमान नापितले नेपालमा स्थापित भएको रेडक्रसलाई अहिलेको सरकारले पहिलो पटक हस्तक्षेप गर्नु दुःखद् कुरा रहेको बताए ।
उपशाखाकी सचिव विन्दु शर्मा पराजुलीले प्रगति विवरण प्रतिवेदन, कोषाध्यक्ष शान्तिदेवी पराजुलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
उपशाखाका सभापति खगेन्द्रराज पराजुलीले कोरोनाको कारणले अपेक्षित कार्यक्रम गर्न नसकेको बताए ।
संस्थाका सभापति खगेन्द्र पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति सावित्री बराल पराजुली, सल्लाहकार सुशिला पराजुली, विन्दवासिनी बरपाटन माविका प्राचार्य वसन्तराज पाण्डे, पोखरा महानरपालिका वडा नं. २ का वडा अध्यक्ष रामेश्वर मल्ल, वडा नं. ३ का वडाध्यक्ष रविन्सन प्रजु, सचिव विन्दु शर्मा पराजुली, सहकोषाध्यक्ष सोमकला पराजुली लगायतले बोलेका थिए ।
उक्त अवसरमा वरिष्ठ लोकदोहोरी गायक प्रजापती पराजुलीलाई सम्मान गरिएको थियो ।