सराङकोट बहुउद्देश्यीय सहकारीको रक्तदान, ३२ युनिट रगत संकलन
पोखरा, २७ मंसिर ।
सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन गरेको छ । संस्थाको १५औं वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष रामराज लामिछानेले पहिलो रक्तदाता संस्थाका सल्लाहकार राममणि पौडेल र शेयर सदस्य सान्त्वना पराजुलीलाई ब्लड व्याग हस्तान्तरण गर्दै कार्यक्रम शुभारम्भ गरे ।
उक्त अवसरमा प्रमुख अतिथि लामिछानेले सहकारीले सामाजिक र आर्थिक रुपमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।
रक्तसंचार केन्द्रका प्राविधिक प्रमुख अर्जुन ज्ञवालीले रक्तदान जत्तिको धर्म अन्य नहुने बताए ।
संस्थाका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार महासंघका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला, मिर्मिरे सहकारी संस्थाका अध्यक्ष लेखनाथ तिवारी, मेडिसिटी हस्पिटल ट्रमा सेन्टरका अध्यक्ष रमेश कुमार थापा, संगम मार्ग टोल विकास संस्थाका अध्यक्ष ढाकाराम लामिछाने, महिला समुह अध्यक्ष ईन्दिरा लामिछाने, जिल्ला प्रहरी कार्यालयका संचार प्रमुख राजेन्द्र पौडेल, कार्यक्रम संयोजक सुरेन्द्र थापा, सल्लाहकार इन्द्रकमल मानन्धर लगायतले बोलेका थिए ।
२०६२ सालमा स्थापना भएको संस्थाले स्थापनादेखि रेडियो सराङकोट र सहकारी सञ्चालन गर्दैै आइरहेको छ । कुल ४० करोडको करिब ३५ करोड ऋण लगानी गरिएको सचिव कृष्ण थापाले जानकारी दिए ।
संस्थाले पुस महिनादेखि सदस्यहरुमुखी छुट तथा सहुलियतका लागि विभिन्न व्यवसायिक पसलहरुवाट छुट योजना कार्यक्रम गर्न लागिएको पनि सचिव थापाले वताए ।