अब सबै विद्यालय खुल्ने, आवश्यक परे तुरुन्तै बन्द गरिने

पोखरा, २० पुस ।

कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी) ले संक्रमणको जोखिमका कारण बन्द गरिएका सबै क्षेत्र खुला गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको सीसीएमसीको बैठकले यस्तो निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए । यद्यपि, यो निर्णय मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नुपर्ने हुन्छ । त्यसपछि बन्द विद्यालय, मनोरञ्जनका क्षेत्रलगायत खुल्न बाँकी क्षेत्र खोल्न पाइनेछ ।

यसअघिका निर्णयहरूमा होटल व्यवसाय, यातायात, हवाई सेवालगायतका क्षेत्र खुला गरिए पनि शैक्षिक क्षेत्र, मनोरञ्जन, जिमखाना, पुस्तकालयलगायत क्षेत्र खुलाइएको थिएन ।

विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड-१९) का कारण करिब १० महिनादेखि बन्द विद्यालयहरू अब खुल्ने भएका छन् । सरकारले गत चैत २०७६ बाट बन्द भएका विद्यालय खुलाउने तयारी गरेको हो ।

विद्यालयहरू चैतदेखि बन्द हुँदा विद्यार्थीको पढाइ करिब १० महिना अन्योल भएको थियो । उपत्यकाका स्थानीय तहहरूले विद्यालय खुलाउन खोज्दा पनि जोखिमलाई ध्यानमा राखी रोक लगाइएको थियो ।

विद्यालय तथा अन्य मनोरञ्जनका क्षेत्रहरू खोल्न दिइने भए पनि कोरोनाको जोखिम बढे जिल्लाअन्तर्गतको जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई पुनः बन्द गर्न सक्ने अधिकार पनि दिइएको छ ।

केन्द्र सरकारले औपचारिक रूपमा विद्यालय खुलाउने निर्णय गर्ने तयारी गरे पनि कतिपय स्थानीय तहले विद्यालय खुलाएर पठनपाठन सुरु गरिसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close