थुम्कीस्थित शिवालय माविको वार्षिकोत्सव, पाँच जना सम्मानित

पोखरा, २१ पुस । 

कास्कीको रुपा गाउँपालिका वडा नं. २ थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रम शुभारम्भ गर्दै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले शिवालय माविले रुपा गाउँपालिकाको उत्कृष्ट विद्यालयका रुपमा पहिचान बनाएको बताए । शैक्षिक सुधारका लागि शिक्षासँग सम्बन्धित सबै पक्षको समान सक्रियता आवश्यक भएको उनले स्पष्ट पारे ।

गाउँपालिकाकै शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सन्दिप पौडेलले शिवालयको शैक्षिक प्रगति सबैले देख्न सक्ने गरी अघि बढेको बताए । उनले विद्यालयमा विद्यार्थीमैत्री वातावरण बन्दै गएको पाउँदा खुसी लागेको भनाइ राखे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीले शिवालय माविलाई शैक्षिक र भौतिक दुवै ढङ्गले उत्कृष्ट बनाउनेतर्फ आफूहरु लागिपरेको बताए ।

सो अवसरमा वडा नं. २ की कार्यवाहक वडाध्यक्ष हिता रुपाखेती, पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार तिलबहादुर थापा, सल्लाहकार बलबहादुर गुरुङलगायतले बोलेका थिए ।

कार्यक्रममा प्रधानाध्यापक रुपिन्द्र प्रभावीले शैक्षिक प्रतिवेदन तथा लेखापाल पूर्णबहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्ष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक ऋषिराम ओझाले स्वागत, शिक्षक जयराम सुवेदीले सञ्चालन, शिक्षिकाहरु शान्ता तिमल्सेना, शोभा तिवारी र लक्ष्मी न्यौपानेले स्वागत गीत प्रस्तुत गरेका थिए ।

पाँच जनालाई शिवालय वर्ष सम्मान

उक्त अवसरमा विद्यालयको विकासमा सहयोग गर्ने पाँच जनालाई शिवालय वर्ष सम्मान प्रदान गरिएको थियो ।

सम्मानित हुनेहरुमा शिक्षक धनबहादुर गुरुङ, पूर्वअध्यक्षद्वय तिलबहादुर थापा र हिराप्रसाद सुवेदी, शिक्षक-अभिभावक संघकी पूर्वअध्यक्ष लीला ओझा र समाजसेवी हिमलाल ढुंगाना छन् ।

यस्तै, शैक्षिक सत्र २०७६ का उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कारका साथै विभिन्न अक्षयकोषबाट प्राप्त छात्रवृत्ति वितरण गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close