बार्सिलोना पाँचौ स्थानमा उक्लियो, सोसिडाडलाई धक्का
पोखरा, २ पुस ।
बार्सिलोना स्पानिस ला लिगाको पाँचौ स्थानमा उक्लिएको छ । बार्सिलोनाले गएराति भएको खेलमा सोसिडाडमाथि २-१ को जित हात पारेको हो । घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाका लागि जोर्डी अल्बा र फ्रेन्की डे जोङले गोल गरे ।
खेलको २७औं मिनेटमा विलियन जोसले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए । तर त्यसको चार मिनेटपछि नै जोर्डी अल्बाले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।
४३औं मिनेटमा अल्बाकै पारसमा डे जोङले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । दोस्रो हाफमा दुवैतर्फ थप गोल हुन नसकेपछि बार्सिलोना विजयी भयो ।
जितपछि बार्सिलोना २० अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ । १४ खेल खेलिसकेको सोसिडाड भने हारपछि दोस्रो स्थानमा झरेको छ । सोसिडाड एट्लेटिको मड्रिडसँग गोलअन्तरमा पछि परेको हो ।
एट्लेटिको, सोसिडाड र रियल मड्रिडको समान २६ अंक छ । एट्लेटिकोले ११ र रियलले १३ खेल खेलेका छन् । लिगमा लगातार दुई खेल जितेपछि बार्सिलोनाले शीर्ष स्थानको टीमसँग अंक दूरी ६ मा झारेको छ ।