उखु कृषकका पीडा : स्वाद गुलियो, आम्दानीले मन अमिलो

-हरि पन्त
पोखरा, १३ पुस ।

पोखरा महानगरपालिका वडा नं. ३२, ढोरवेंसीका कृषकहरु यतिबेला धमाधम उखु पेल्न जुटेका छन् । नजिकिंदै गरेको ल्होसार र माघेसंक्रान्ति पर्वमा मिठ्ठा (सक्खर) को माग निकै हुने बेला पारेर किसान उखु पेल्न जुटेका हुन् ।

ढोरवेंसी क्षेत्रमा अहिले तुर्पिन (उखु पेल्ने उपकरण) चलिरहेका भेटिन्छन् । त्यहाँका स्थानीय मेसिनमा उखु पेलिरहेको, अर्कोतिर खुदो पकाइरहेको अवस्थामा भेटिन्छन् ।

चाडपर्वले मिठ्ठाको माग निकै भएकाले तत्काल नगद हात पर्ने हुँदा उखु पेल्न थालिएको कृषकहरु बताउँछन् । अहिले अन्य खेतीको काम नभएको र चाडपर्व मनाउन तत्काल नगद पाइने हुँदा उखु पेल्न लागेका उनीहरुले बताए ।

चिनी मिल (उद्योग) खुल्ने टुंगो नहुने र भुक्तानी पनि समयमा नपाउने भएपछि उखु पेल्न थालिएको कृषकको भनाइ छ । ढोरबेंसी क्षेत्रमा हाल दुई वटा उखु पेल्ने मेसिन ‘क्रसर’ छन् । अहिले बिजुलीको सहायतामा उखु पेल्ने मेसिन आएसँगै कृषकलाई सहजता भएको छ ।

‘पहिला पहिला रातभर लगाएर गोरुको सहायताले उखु पेल्ने गरिन्थ्यो । अहिले मेसिन आएपछि सहज भएको छ’, अग्रज उखु कृषक लोकनाथ अधिकारी बताउँछन् ।

उखु पेल्दै कृषक ।

‘पहिला-पहिला उखु पेल्ने मेसिनलाई काठेकोल भन्थे । पछि हामीलाई थाहा भएदेखि जमिनमा गाडेर तीन वटा डल्लामा गोरुले घुमाएर उखु पेलिन्थ्यो । यसरी उखु पेल्दा दिनमा एक टिन खुदो भन्दा हुँदैनथ्यो,’ अधिकारीले उखु पेल्दै पहिलाको प्रविधिलाई स्मरण गर्दै भने, ‘तीन महिना लगाएर गोरु सहायताले उखु पोलेरर खुदो निकालेको अनुभव छ ।’

ढोरबेंसी कृषि समूहका ३० शेयर र अर्को समूहका २० जना शेयर सदस्यबाट दुई ठाउँमा मेसिन ल्याएर उखुको खुदो उत्पादन गर्दै आएका छन् । कास्की, तनहूँका साथै लमजुङबाट समेत मानिसहरु खुदो किन्न आउने गर्दछन् ।

कृषकका कहालीलाग्दा पीडा

संघीय राजधानी काठमाडौंमा उखु कृषकको आन्दोलन चलिरहँदा पोखराका उखु कृषकले भने मेहनत र लगानी अनुसारको आम्दानी नभएको गुनासो गरेका छन् ।

पोखरा महानगरपालिका वडा नं. ३२, ढोरवेंसीका कृषकले उखु खेती गर्न ज्यादै दुःख हुने तर त्यसको तुलनामा आम्दानी नहुने गुनासो गरेका हुन् ।

खुदो पकाउँदै कृषक ।

सिंचाइको अभावमा धान खेती छोडेर उखु खेती शुरु गरेका कृषकहरु उखुबाट पनि जीविका धान्न नसक्ने भएपछि समस्यामा छन् । जसले गर्दा शुरुआती चरणमा १० हजार हेक्टरमा हुने गरेको उखु खेती पछिल्ला वर्षमा क्रमशः घट्दै गएको छ । यसैका कारण धेरै उखु कृषक पलायन भइसकेका छन् ।

वर्षमा एक पटकमात्र आम्दानी हुने उखुको बजार मूल्यले आफूहरुको जीविका चल्न नसक्ने अग्रज उखु कृषक लोकनाथ अधिकारीकोे दुःखेसो छ । उखु खेती गर्न निकै समस्या र झण्झटिलो भए पनि यसबाट हुने आम्दानीले लगानी उठाउन पनि समस्या रहेको उनले बताए ।

अर्का कृषक ईश्वर अधिकारी उखुबाट आफूहरुको जीविक नचल्ने भएपछि अन्य विकल्पको बारेमा सोचिरहेको बताउँछन् । पछिल्लो समयमा उखु खेतीमा विभिन्न रोग लाग्न थालेको र यस बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा चासो नदिएको उनको गुनासो छ ।

उखुले वर्षको एक पटकमात्र आम्दानी दिने र सिंगो गाउँ नै उखुमा निर्भर रहनुपर्ने अवस्था रहे पनि जीविका धान्न समस्या परिरहेको अधिकारी बताउँछन् ।

आम्दानी कति ?

मेसिनको माध्यमबाट उखु पेल्न समय कम लाग्ने भएकाले खर्चमा कमि आउँछ । उखु व्यवसाय गर्ने किसानहरू पहिलाको तुलनामा आम्दानी बढेको कृषक बताउँछन् । मेसिनले गर्दा यसप्रति आकर्षण थपिएको छ ।

समय कम लाग्ने र पुस र माघ महिनाको अवधिमा सामान्यतया किसानले ५० हजार रुपैयाँदेखि दुई लाखसम्म कमाउने गरेको कृषक धर्मेन्द्र धमलाले बताए । उनले दुई रोपनी जग्गामा उखु खेती गरेको सुनाए । उखु खेतीको लागि प्रशस्त्र सम्भावना हुँदा पनि नयाँ युवाहरूयो खेतीमा नलाग्दा चिन्तित हुनुपरेको उनले बताए ।

उखुको व्यवसायलाई फस्टाएर आवश्यक बजार विस्तार गर्नुपर्ने उनको जोड छ । उनले भने, ‘यसबाट छोटो समयमा मनग्य आम्दानी हुने गरेको छ ।’

उनका अनुसार उखुको खुदो मानाको १२० रुपैयाँ र एक टिन (१६ लिटर) को तीन हजार रुपैयाँमा विक्री हुने गरेको छ । एक टिन खुदोको मूल्य पाँच हजार बनाउन सकेमात्र आफूहरुको लगानीले राम्रो प्रतिफल प्राप्त गर्ने उनको दावी छ ।

कसरी गरिन्छ उखु खेती ?

कृषक अधिकारीका अनुसार उखुमा लगानी आफ्नै मेहनतसँग जोडिएको हुँदा लगानीभन्दा पनि रोजगारीको रूपमा लिइएको छ । उखु खेती गर्दा धान खेती गरेजस्तै खन्नु र जोत्नुपर्छ ।

गोरुले जोतेको ठाउँमा उखुको टुप्पा गाडेर छोड्दै जानुपर्छ । यसमा गाइभैंसीको मल प्रयोग गरी आवश्यकअनुसार पानीको प्रयोग गर्नुपर्छ ।

अधिकारीका अनुसार एक वर्षे उखु खेतीमा तीन पटक गोड्नुपर्छ । उखु खेती राम्रो बनाउनका लागि पानीको पनि आवश्यकता पर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close