टोपीको किस्सा : दायाँ ढल्काइ भगवानलाई, बायाँ ढल्काइ प्रेमिकालाई, जुवाडेले कता ढल्काउँछन् ?

पाल्पा, १७ पुस ।

‘हिजोआजका मान्छेलाई टोपी लाउनै आउँदैन’, बगनासकाली ७ कल्लाबारीका ८२ वर्षीय मानबहादुर रानाले विगत सम्झँदै भने, ‘अहिले लगाइने सिधा टोपी सरकार र सभ्यताको लागि मात्रै हो ।’

रानाका अनुसार पूजाआजा र धार्मिक कार्यक्रममा जाँदा दायाँ र प्रेमिकालाई भेट्न जाँदा बायाँ ढल्काएर टोपी लगाउनुपर्छ । ‘बिहे, भोजभतेर वा रमझममा सिधा लगाउने चलन हो’, उनले भने ।

‘धेरैलाई त जुवाडेले लगाउने तरिका मात्रै थाहा छ’, ६९ वर्षीय गमबहादुर थापाले भने, ‘हिँड्ने बेलामा कता भनेर सोध्नै पर्दैन थियो, उसले लगाएको टोपी हेरेर थाहा हुन्थ्यो ।’ थापाका अनुसार पछाडि ढल्काएर टोपी लाए जुवा खेल्न हिँडेको भन्ने थाहा हुन्थ्यो ।

‘लज्जालुहरुले निधारै छोपेर अगाडि ढल्कने गरी टोपी लाउने चलन हो’, गमबहादुरले भने, ‘उबेला टोपी लगाउने मान्छेलाई राम्रो मानिन्थ्यो ।’

त्यसबेला अहिलेको जस्तो ढाकाको टोपी थिएन । ‘भारतमा गएका आफन्तहरुबाट कोरा वा भादगाउँले टोपी मगाउनुपथ्र्यो’, ७८ वर्षीय वीरबहादुर थापाले भने, ‘किन्न पैसा नहुने, पाउन मुस्किल पर्ने भएकाले एउटै टोपी वर्षौँसम्म लगाउनुपर्याे ।’

टोपी लगाउने तरिकाको बारेमा बूढापाकाहरुको पुराना फोटो हेर्दा जानकारी भएको भन्दै खानीगाउँ आधारभूत विद्यालयका प्रधानाध्यापक नलबहादुर साठीघरेले बा–बाजेहरुले लगाएको देखेरै आफूले पनि टोपी लगाएको बताए । ‘पहिले लगाउने तरिका र अहिलेमा धेरै फरक छ’, ५३ वर्षीय साठीघरेले भने, ‘अहिले नेपाली पहिचानका लागि पनि टोपीको महत्व छ ।’-उज्यालो अनलाइन

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close