युनाइटेड क्लवका महिला सदस्यलाई सचेतना तालिम
पोखरा, २९ मंसिर ।
युनाईटेड क्लव पोखराको महिला उपसमितिले समाजमा महिलाको भूमिका तथा लैंगिक हिंसा विरुद्ध सचेतना तालिम आयोजना गर्यो । क्लवमा आवद्ध महिला सदस्यलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो ।
तालिम शुभारम्भ गर्दै गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले नेतृत्व तहमा महिलाहरु नपुगेसम्म राष्ट्रको विकास नहुने बताइन् । महिलाहरुलाई प्रदान गरिने यस्ता सचेतनामूलक तालिमले महिला हिंसालाई न्यूनीकरण गर्ने उनले विश्वास व्यक्त गरिन् ।
युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठले तालिमबाट सिकेका कुरा आआफ्नो टोल छिमेकमा सकारात्मक किसिमले उजागर गर्नतर्फ लाग्नुपर्ने बताए । अध्यक्ष श्रेष्ठले महिलाबाटै महिलाहरु हिंसामा परिरहेकाले यसको न्यूनीकरणका लागि महिलाहरु कै मुख्य भूमिका हुने स्पष्ट पारे ।
अधिवक्ता तथा पत्रकार सुश्मा पौडेलले तालिमको सहजीकरण गरेकी थिइन ।
क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महिला उपसमिति संयोजक सीमा गुरुङ, क्लवका महासचिव शान्तबहादुर थापा लगायतले बोलेका थिए ।