ट्रम्पलाई राष्ट्रपतिबाट हटाउने माग तीव्र, फेसबुकमा प्रतिवन्ध

पोखरा, २४ पुस ।

अमेरिकी कंग्रेसको दुवै सदनका विपक्षीहरूले राष्ट्रपति डोनल्ड ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन आग्रह गरेका छन् । अमेरिकी संसद् भवनलाई ट्रम्पका समर्थकहरूले हिंसात्मक तवरले बुधवार कब्जा गरेपछि विपक्षीहरूले यस्तो आह्वान गरेका हुन् ।

डेमोक्र्याटिक सिनेटर चक सुमरले ट्रम्पलाई तुरुन्तै हटाउनुपर्ने बताए । सभामुख न्यान्सी पेलोसीले यदि उनलाई नहटाइए उनीमाथि महाअभियोग लगाउन सकिने बताएकी छन् ।

ट्रम्पलाई राष्ट्रपतिबाट हटाउनका लागि रिपब्लिकनहरूको समर्थन आवश्यक हुन्छ । हालसम्म केही रिपब्लिकनले मात्र उनलाई हटाउनुपर्ने कुरामा साथ दिएका छन् । उक्त झडपमा परेर चार जनाको निधन भएको छ भने हालसम्म ६८ जना पक्राउ परेका छन् ।

आलोचित प्रहरी

प्रहरीको कारबाही व्यापक छानबिनको दायरामा आएको छ । प्रहरी अधिकारीहरूले दङ्गा भड्काउनेहरूलाई नियन्त्रण गर्न नसकेकोमा व्यापक आलोचना खेपिरहेका छन् । हाउस अफ रेप्रिजेन्टेटिभ्सको सुरक्षामा जिम्मेवार सुरक्षा प्रमुखले राजीनामा दिएका छन् । सुमरले सिनेटका सुरक्षा प्रमुखलाई पनि हटाउनुपर्ने बताएका छन्।

जो बाइडनले के भने ?

राष्ट्रपति निर्वाचित जो बाइडनले भनेका छन्, यदि ब्ल्याक लाइभ्स म्याटरका प्रदर्शनकारी थिए भने क्यापिटलमा हिजो हुलदङ्गा गर्नेहरूलाई भन्दा अलग व्यवहार गरिदैँन थियो भनेर मलाई कसैले भन्नसक्ने छैनन् ।

यूएस क्यापिटल प्रहरीका प्रमुखले चाहिँ आफ्ना अधिकारीहरूले अपराधिक र दङ्गायुक्त व्यवहारको सामाना गरेको र अधिकारीहरूको कार्य नायकले गर्नेजस्तै भएको बताए । यद्यपि पेलोसीले चाहिँ उनलाई राजीनामा गर्न आह्वान गरेकी छन् ।

PIC : REUTERS

डीसी प्रहरी यूनियनले त्यस्तो घटनाका लागि क्यापिटल प्रहरी जनशक्ति र स्रोतका हिसाबले कमजोर रहेको बताएको छ । उक्त घटनालाई लिएर ट्रम्प प्रशासनका कैयौँ अधिकारीहरूले राजीनामा दिएका छन् ।

त्यसरी राजीनामा दिनेमा यातायातमन्त्री एलेन चाओ अन्तिम उच्च अधिकारी भएकी छन् । ट्रम्पलाई हटाउनुपर्ने माग गर्नेमा बाइडनको डेमोक्र्याटिक पार्टीका सांसदहरू धेरै रहेका छन् । चक सुमरले एकदिन पनि ट्रम्पलाई राष्ट्रपतिका रूपम राख्नु नहुने बताए ।

ट्रम्पले यही ज्यानुअरी २० मा राष्ट्रपति पद जो बाइडनलाई हस्तान्तरण गर्नुपर्नेछ । तर त्यसअघि नै उनलाई हटाउनुपर्ने माग तीव्र भएको हो । उनले ट्रम्पको मन्त्रिमण्डललाई अमेरिकी संविधानको २५औँ संशोधनलाई प्रयोग गरेर राष्ट्रपतिलाई हटाउन माग गरे ।

तस्वीर : रवेटर्स

उक्त संशोधनले मानसिक र शारीरिक समस्याका कारण काम गर्न नसक्ने अवस्थामा राष्ट्रपतिलाई हटाएर उपराष्ट्रपतिले कार्यभार सम्हाल्न सक्छन् । त्यसका लागि उपराष्ट्रपति माइक पेन्सले कम्तिमा अनट जना मन्त्रिमण्डलका सदस्यसहित ट्रम्पसँग सम्बन्ध तोड्नुपर्नेछ । त्यो अहिले नै सम्भव देखिएको छैन । मेरिल्यान्डका रिपब्लिकन गभर्नरले पनि ट्रम्पलाई राष्ट्रपतिबाट हटाउनुपर्ने बताएका छन् ।

ट्रम्पको फेसबुकमा प्रतिबन्ध

बुधवार अमेरिकी संसद् भवनमा हमला भएपछि फेसबुक र ट्विटरले ट्रम्पलाई निश्चित समय केही पनि लेख्न नमिल्ने गरि प्रतिबन्ध लगाइदिएका थिए ।

अब फेसबुकले अनिश्चितकालका लागि ट्रम्पलाई प्रतिबन्ध लगाइदिएको छ । फेसबुकका प्रमुख मार्क जकरबर्गले एउटा वक्तव्य निकालेर त्यसको जानकारी दिएका हुन् । उनले ट्रम्पले संसद् भवनमा भएको हमलाको निन्दा गर्नुको साटो समर्थकहरूको प्रशंसा गरेकाले उनको पोस्ट हटाउनु परेको उल्लेख गरेका छन् ।-बीबीसी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close