समाचार

साउन १८, २०७७ आइतबार

पोखरा, १८ साउन ।

पोखरामा कोभिड १९ र बन्दाबन्दीको समयमा महिलामा परेको असर, चुनौति र समाधानका उपाय विषयक अन्तरक्रिया हुने भएको छ । महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीले उक्त कार्यक्रम गर्न लागेको हो

कार्यक्रम यही साउन २० गते दिउँसो २ बजे जुम एपमार्फत गर्न लागिएको सञ्जालकी अध्यक्ष तारामाया थापा मगरले जानकारी दिइन् । कोविड १९ कोरोना भाइरसका कारण देश लकडाउन भएका बेलामा महिलामाथि घरेलु हिंसा बढेको समाचार आइरहेको र यसको कारण , न्यूनीकरण र यसले महिलामा पारेको मानसिक, शारीरिक , सामाजिक एवम् आर्थिक असर र यसको समाधानका उपायका बारेमा अन्तरक्रिया गर्न लागिएको थापाले बताइन् ।

कार्यक्रममा प्रमुख वक्ताको रुपमा गण्डकी प्रदेशका कानुनमन्त्री हरिबहादुर चुमाङ रहने छन् । त्यस्तै अन्य वक्ताहरुमा राष्ट्रिय महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रीय अध्यक्ष डा. रेणु अधिकारी, मानव अधिकार आयोग कास्कीका उपनिर्देशक नितु गर्तौला, पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखराका निर्देशक विनोद विन्दु शर्मा, नीति तथा योजना आयोगका सदस्य भीमा ढुङ्गाना, अधिवक्ता जुना गुरुङ, गैर सरकारी महासंघ नेपाल गण्डकी प्रदेशकी अध्यक्ष बिना सिलवाल र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल रहेका छन् ।

कार्यक्रममा सहभागिताका लागि जुम आइडी ९१३७७२५२३९५ रहेको छ ।